No 1 News portal From Nepal in Nepali

चिसो छल्न हिटर बढी प्रयोग गर्नुहुन्छ भने हुनुहोस् सावधान, स्वास्थ्यका लागि थुप्रै खतरा

कठ्याङ्ग्रिदो चिसोबाट बच्नका लागि मानिस धेरैभन्दा धेरै कपडा लगाउने गर्छन् तरपनि यसले चिसोलाई राम्रोसँग छेक्न सकिरहेको हुँदैन । यस्तो अवस्थामा हिटरले धेरैलाई राहत प्रदान गर्दछ । हिटरले चिसोबाट राहत त प्रदान गर्छ नै यसबाट स्वास्थ्यलाई विभिन्न प्रकारको हानी पनि हुन्छ । यदि तपाईं पनि शरीरलाई तातो बनाउनका लागि जतिबेला पनि हिटर नजिकै बस्नुहुन्छ भने यसबारे केही कुरा थाहा पाउनुहोस् ।

हिटरले कसरी काम गर्छ ? धेरैजसो हिटरभित्र रातो–तातो धातुका छडी वा सिरेमिक कोर हुन्छन् । यसले कोठाको तापक्रमलाई बढाउनका लागि तातो हावा बाहिर निकाल्ने गर्छ । यसले हावाको मोइस्चरलाई सोस्ने गर्छ । हिटरबाट पाइने हावा निकै सुख्खा हुन्छ । यसबाहेक रुम हिटरले हावाबाट अक्सिजनलाई पनि नष्ट गर्ने काम गर्छ ।

हिटरबाट हुने हानी: हिटरबाट निस्कने हावाले छालालाई निकै रुखो बनाउने गर्छ । हिटरका कारण मानिसलाई निद्रा नलाग्ने, बान्ता आउलाजस्तो हुने, टाउको दुख्नेलगायतका समस्या देखिन्छ । कन्भेन्सन हिटर, हेलोजन हिटर र ब्लोअरको अत्यधिक प्रयोगले तपाईंलाई बिरामी बनाउन सक्छ । यी हिटरबाट निस्कने केमिकल सासमार्फत् शरीरभित्र प्रवेश गर्छ र आन्तरिक हिस्सालाई हानी पुर्याउने काम गर्छ विशेषगरी यदि तपाईंलाई दम र एलर्जीको समस्या छ भने ।

यी मानिसलाई हिटर नजिकै बस्नुको खतरा बढी: दमका रोगीलाई रुम हिटरले सबैभन्दा बढी हानी गर्छ । यदि तपाईंलाई सास सम्बन्धि कुनै समस्या छ भने हिटरबाट एक निश्चित दुरीमा बस्नुहोस् । यसबाहेक ब्रोन्काइटिस र पिनासका बिरामीलाई पनि यसबाट एलर्जी हुनसक्छ । यी बिरामीको फोक्सोमा हिटरको हावाबाट कफ बन्न थाल्छ, जसका कारण उनीहरुलाई खोकी र हाच्छिउँ आउन थाल्छ । भित्र भित्रै कफ सुकेको स्थितिमा एन्टिबायोटिक्स लिनुपर्ने हुनसक्छ ।

एलर्जी भएकाहरुका लागि विशेष हिटर: स्वास्थ्य विज्ञका अनुसार यदि तपाईं दमको बिरामी हुनुहुन्छ वा तपाईंलाई एलर्जीको समस्या छ भने तपाईंले साधारण हिटरको साटो तेल भएको हिटर प्रयोग गर्नुहोस् । यस्ता हिटरमा तेल भरिएका पाइप हुन्छन् जसका कारण हावा सुख्खा हुँदैनन् । यदि तपाईं निरन्तर हिटर प्रयोग गरिरहनुभएको छ भने तपाईंले केही मिनेटको अन्तरालमा यसलाई बन्द गर्नुपर्छ । यदि तपाईंलाई पिनास वा ब्रोन्काइटिसको समस्या छ भने ह्युमिडिफायरको प्रयोग गर्नु तपाईंका लागि सबैभन्दा राम्रो हुनेछ । यसले हावाको मोइस्चरलाई यथावत् राख्ने गर्छ जसका कारण सास सम्बन्धि कुनै समस्या हुँदैन ।

ग्यास हिटरबाट सावधान: शोधका अनुसार जुन घरमा ग्यास हिटर वा एलपीजी हिटरको प्रयोग धेरै भइरहेको छ, त्यस घरका बालबालिकामा दमको समस्या धेरै पाइन्छ । यसबाहेक खोकी, हाच्छिउँ, छाती घ्यारघ्यार र फोक्सोमा हानीका लक्षण धेरै देखिन्छ । यी हिटरबाट निस्कने कार्बन मोनोअक्साइडले विशेष गरी साना बालबालिका र वृद्ध–वृद्धामाथि असर पार्ने गर्छ । विशेषज्ञका अनुसार हिटरलाई कहिल्यै पनि ढाकेर राख्नुहुँदैन । यसो गर्दा आगलागीको सम्भावना अत्यधिक हुन्छ ।