No 1 News portal From Nepal in Nepali

अस्पताल भर्ना गरिएको दुई घण्टा नबित्दै संक्रमितको मृत्यु

विराटनगर : उपचारका लागि अस्पताल भर्ना गरिएको दुई घण्टा पनि बित्न नपाउँदै विराटनगरमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा सिरहाको गोलबजार–१२ का ४८ वर्षीय पुरुषको बिहीबार बिहान १२:२२ बजेतिर मृत्यु भएको हो।

कोरोना पुष्टि भएका उनलाई बुधबार राति १०:३० बजेतिर उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। 

‘अस्पताल भर्ना गर्दा अवस्था गम्भीर थियो,’ उनले भने, ‘उपचार थालेको दुई घण्टा पनि बित्न नपाउँदै संक्रमितको मृत्यु भयो।’ दाहालका अनुसार मृतकमा निमोनियाको पुरानै समस्या रहेको पाइएको छ।