No 1 News portal From Nepal in Nepali

वीरगन्जमा थप १७५ जनामा कोरोना पुष्टि, तीन संक्रमितको मृत्यु

वीरगन्ज : वीरगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको आइशोलेसनमा उपचाररत पर्साका २ र बाराका १ गरी ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए। 

पर्साको वीरगन्ज महानगरपालिका- १६ नगवाकी ४८ वर्षिया महिलाको शुक्रबार बिहान पौने २ बजे मृत्यु भएको हो। निमोनियाले सिकिस्त भएकी उनको उपचारका लागि अस्पतालमा बैशाख १२ गते भर्ना भएको र त्यहि दिन पीसीआर परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

यस्तै नारायणी अस्पतालकै आइशोलेसनमा उपचाररत बाराको जीतपुरसीमरा उपमहानगरपालिका -२४ का ७७ वर्षिय पुरुषको भने बिहीबार राति पौने १२ बजे मृत्यु भएको हो। बैशाख १० गते नारायणी अस्पतालमा भर्ना भएका ती पुरुषको त्यहि दिन पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। 

बिहीबार राति नै पर्साको वीरगन्ज महानगरपालिका -३ की ४७ वर्षिया महिलाको पनि नारायणी अस्पतालमै मृत्यु भएको छ। बैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यहि दिन अस्पतालमा भर्ना भएकी उनको बिहीबार राति साढे ९ बजे मृत्यु भएको डाक्टर दासले जानकारी दिए।

यसअघि बिहीबार पनि नारायणी अस्तपतालमै वीरगन्ज महानगरपालिका-१२ का ४० वर्षीय संक्रमित पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको थियो। 

गत बुधबार भने वीरगन्जमा एकैदिन कोरोनाले ५ जनाको मृत्यु भएको थियो। कोरोनाको दोस्रो लहर शुरु भए यता चैत ३० गतेदेखि बैशाख १६ सम्म कोरोनाले २७ जनाको मृत्यु भएको छ।
   
वीरगन्जमा थप १७५ जनामा संक्रमण पुष्टि

वीरगन्जमा फेरि थप १ सय ७५ जनामा कोरोना भारस संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति २ सय ८८ जनाको स्वाब नमुना परीक्षण गर्दा आधाभन्दा बढी अर्थात १ सय ७५ जनामा संक्रमण भेटिएको हो। 

कोरोनाको दोस्रो लहर शुरु भएपछि वीरगन्जमा एकै दिन नयाँ संक्रमित फेला परेको यो नै सबैभन्दा बढी हो। बिहीबार राति थपिएका १७५ संक्रमितमध्ये पर्सा जिल्लाका मात्र १ सय ३१ ज्ना छन्। ती मध्ये वीरगन्ज महानगरपालिकाका मात्र १ सय १२ जना छन्। 
यस्तै बाराका ३४ जना, सर्लाहीका ५ जना, रौतहटका ३ जना तथा महोत्तरी र दाङ जिल्लाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए। 

यसअघि बुधबार राति पनि नारायणी अस्पतालको प्रयोगशालामा २ सय ४० जनाको परिक्षण गर्दा तीमध्ये १ सय ६९ जनामा संक्रंमण भेटिएको थियो। मंगलबार राति पनि नारायणी अस्पतालको प्रयोगशालामा २ सय १० जनाको स्वाब नमुना परिक्षण गर्दा ६० प्रतिशतमा अर्थात १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

वीरगन्जमा चैत २७ गतेदेखि यता १ हजार ४ सय ६६ जना नयाँ संक्रमित थपिएका छन्। 

जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवकाअनुसार पर्सा जिल्लामा हाल सकृय संक्रमितको संख्या १ हजार ६८ पुगेको छ। 
तीमध्ये वीरगन्जका विभिन्न अस्पतालमा जटिल अवस्थाका ७६ जना संक्रमित उपचाररत छन्। 

नारायणी अस्पतालमा ४२, नेशनल मेडिकल कलेजले बाबा होटलमा सन्चालन गरेको अस्थायी कोभिड अस्पतालमा १५, बयोधा अस्पतालमा १४ र गण्डक हस्पिटलमा ५ जना संक्रमित उपचाररत रहेको श्रीवास्तवले जानकारी दिए। श्रीवास्तवकाअनुसार पर्सा जिल्लामा हाल ९ सय ७० जना संक्रमित होमआइशोलेसनमा छन्।