No 1 News portal From Nepal in Nepali

उपत्यकामा आइतबारदेखि निषेधाज्ञामा थप कडाई गरिने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ ।

शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘आज शनिवार सडकमा गाडी कम छन्, बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएको छ । भोलिदेखि थप कडा  गर्ने विचार गरेका छौँ । सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउन लागिरहेका छौँ ।’

शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडेका भए त्यसलाई होल्ड गरिने पनि उनले बताए ।

अस्पतालमा बेड खोज्दै सीडीओ र मेयर

शनिवार काठमाडौंको सडकको अवस्था र अस्पतालहरूको अवलोकन गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी र महानगरपालिकाका मेयरसहित सुरक्षाकर्मीको टोलीले कोराना संक्रमितको उपचारका लागि थप बेड तयार पार्न अस्पतालहरूको पनि अवलोकन गरेको छ ।

काठमाडौंको वीर अस्पतालको ५ सय शैयाको नयाँ अस्पताल भवनको अवलोकन गरेको छ । सो अस्पतालमा बेड राखेर तत्काल सञ्चालन गर्न सकिने अवस्थामा रहेको पराजुलीले जानकारी दिए । यस्तै काठमाडौंमा निजी क्षेत्रले चलाएको गोर्खा अस्पतालमा पनि कोभिड वार्ड बनाउनका लागि अवलोकन गरेको उनले बताए ।

अस्पतालहरुमा कोभिडका बिरामीको अत्यधिक चाप परेको र बेड मिलाइदिन भन्दै फोन आउने गरेका कारण बेड थप गर्नका लागि अनुगमन गरेको उनले बताए ।

सामाखुसीमा रहेको राधा स्वामीमा तत्काल कोभिड वार्ड बनाउने योजना रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । त्यहाँ अक्सिजन सहितको ८८ बेड, आइसोलेशन सहितको ९६ बेड तयार भइरहेको छ । 

वीर अस्पतालमा भवन बनेको र भौतिक पूर्वाधार पनि रहेकोले त्यसलाई पनि नयाँ कोभिड वार्ड बनाउनेबारे छलफल भएको उनले बताए । स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काठमाडौं महानगरपालिकाले कोभिड वार्ड तयार गर्ने तयारी थालिएको हो ।

क्षेत्रपाटीमा बन्द अवस्थामा रहेको गोर्खा अस्पताललाई पनि महानगरपालिकाको संयोजकत्वमा कोभिड उपचारका लागि सञ्चालनमा ल्याइने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए  ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर खाली रहेका अस्पतालाई कोभिड अस्पताल बनाउने प्रक्रिया अघि बढाइरहेका छौँ । बिल्डिङ बनाउनुपरेन, बेड थपेमात्र पुग्ने भएकोले सहजपनि हुन्छ ।’

उपत्यकामा कहाँ कहाँ खाली अस्पताल छ खोजेर त्यसलाई स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर कोभिड उपचार बेड बिस्तार गर्दै लैजाने उनले बताए ।