No 1 News portal From Nepal in Nepali

साबधान यस्तो कहालीलाग्दो छ टेकु अस्पतालमा बिरामीको हालत

भुइँमा कालो म्याट ओछ्याइएको थियो । ५० वर्षीय पुरुष घरी कोल्टे परेर सुत्थे, घरी उठेर अस्पतालको आकस्मिक कक्षबाहिरको पिलरमा अडेस लगाएर बस्थे । उनलाई चिकित्सकले सिलिन्डरबाट अक्सिजन दिइरहेका थिए । उनकी श्रीमती घरी छेउमा गएर पानी खुवाउँथिन्, कहिले मास्क लगाइदिन पुग्थिन् ।

उनको अवस्था बुझ्न चिकित्सक र नर्सहरू बेलाबेला आइरहन्थे । अक्सिजन लेबल नाप्थे । घरमा हुँदा ६५ मा झरेको थियो अक्सिजन लेबल । अस्पतालमा बाहिरै राखेर अक्सिजन दिँदा ९० भन्दा बढी भएको नर्सले जानकारी दिँदा उनकी श्रीमती पुलुक्क श्रीमान्तिर हेर्दै अनुहार उज्यालो बनाउँथिन् । त्यही खबर आफन्तलाई सुनाउँथिन् ।

होम आइसोलेसनमा बसेका उनलाई तीन दिनअघि पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै जाँच गराउन ल्याइएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै चिकित्सकले उनलाई घरमै बस्नु भन्दै फर्काइदिएका थिए । ‘राति ११ बजेदेखि सास फेर्न गाह्रो भयो । घरमै अक्सिजन दियौं । सुधार नभएपछि अस्पताल ल्याउन एम्बुलेन्स खोज्यौं, कतै पाएनौं,’ बिरामीकी श्रीमतीले भनिन्, ‘प्राइभेट गाडीमा घर नजिकैको पाटन अस्पताल पुर्यायौं । राख्ने ठाउँ छैन भनेर फर्काइदियो । अल्कामा गयौं, त्यहाँ पनि अक्सिजन छैन भनेर लिएन । बानेश्वरको सिभिलमा गयौं, त्यहाँ पनि बेड छैन भन्दै फर्कायो ।’

उनले हैरानीका फेहरिस्त सुनाउँदै गइन् । ‘अस्पतालबाहिर पुगेर स्वास्थ्य मन्त्रालयको हटलाइनमा फोन गर्थ्यौं । जतिखेर पनि नजिकको अस्पताल जानुस् भन्थ्यो । टेकुको अवस्था सोध्दा बेड छैन भनेपछि हामी बेड खोज्न वीर, टिचिङ सबै अस्पताल गयौं कसैले राख्न मानेनन्,’ उनले भनिन्, ‘अनि टेकुमै हारगुहार गरेर भए पनि उपचार गरिदिन आग्रह गर्ने भन्दै आयौं । हामी पुग्दा अरूलाई पनि बाहिरै राखेर उपचार भइरहेको रहेछ । बाहिर भए पनि अक्सिजन दिने भएकाले यहीं राख्यौं ।’

आइतबार बिहान ६ बजे आकस्मिक कक्ष बाहिरको भुइँमै बसेर अक्सिजन लिइरहेका उनलाई अपराह्न ४ बजेमात्रै भित्र बेडमा सारिएको थियो ।ती पुरुषकै छेउमा बालाजुकी ५० वर्षीया महिला फलामको कुर्सीमा बसेकी थिइन् । उनलाई पनि अक्सिजन लगाइएको थियो । उनका ३० वर्षीय छोरा ह्वीलचियरमा थिए । उनीहरू बिहान ९ बजे आइपुगे पनि अपराह्नसम्म अस्पतालबाहिरै थिए ।

अस्पतालमा आमा–छोराकै एक्सरे भयो । ‘आमाको अक्सिजन लेबल घटेको पाइएपछि अक्सिजन दिएर राखिएको छ,’ उनीसँगै ह्वीलचियरमा बसेका युवकले भने, ‘भित्र बेड छैन भनेर बाहिर राखिएको छ । अन्यत्र जाऊँ यही अक्सिजन पनि पाइँदैन ।’ अस्पतालको अक्सिजन प्लान्ट छेउको पर्खालमा दुई वटा सिलिन्डर ठड्याइएको थियो । त्यसमध्ये एउटामा एक साताअघि डिस्चार्ज भएकी महिलालाई प्लास्टिकको कुर्सीमा राखेर अक्सिजन दिइराखिएको थियो ।

उनले अस्पतालको बाहिरै उपचार गरेको फोटो र भिडियो खिच्न पुगेका पत्रकारहरूसँग सरकारमाथि रिस पोखिन् । ‘आफूलाई कति गाह्रो भएको छ । हामीले जतिसुकै असुविधा भोगेको भिडियो देखाए पनि सरकारले गर्ने केही होइन,’ उनले भनिन्, ‘सरकारमा बस्नेलाई लागेपछि थाहा हुन्छ कोरोना कस्तो रोग हो ?’

पीडाका बेला पनि बेडमा बसेर उपचार गर्न नपाएकोमा उनको सरकारप्रति आक्रोश देखिन्थ्यो । जतिसुकै आक्रोश भए पनि छिनछिनमा आएर स्वास्थ्यकर्मीले गर्ने जाँचले उनको दुखाइलाई केही हदसम्म शान्त बनाउँथ्यो । उनलाई पनि अबेरसम्म अस्पताल बाहिरै अक्सिजन दिइएको थियो । पौने ५ बजेतिर एक युवतीलाई एम्बुलेन्सबाट सहिद शुक्रराज ट्रपिकल अस्पतालमा ल्याइएको थियो । चिकित्सकले एम्बुलेन्समै उनको अवस्था बुझे ।

सास फेर्न गाह्रो भएकाले अरू अस्पतालले भर्ना लिन नमानेपछि उनी टेकु अस्पतालको शरण लिन पुगेकी थिइन् । भर्ना गर्न बेड नपाइए पनि उनलाई एम्बुलेन्सबाट ओरालेर आकस्मिक कक्ष जाने सिँढीकै छेउमा राखेर अक्सिजन दिइयो । अस्पतालको आकस्मिक कक्ष बाहिर १० वटा सिलिन्डर राखिएको छ । अस्पतालमा पुग्ने केहीलाई भुइँमै सुताएर अक्सिजन दिइएको थियो । केहीलाई प्लास्टिकको कुर्सीमा राखिएको थियो । अक्सिजन नचाहिने बिरामी अस्पताल परिसरमा छरिएर बसेका थिए ।

एउटै परिवारका ५ जना नै थलिएर उपचार गराउन टेकु पुगेका थिए । संक्रमितको स्याहार गर्न पोजिटिभ नदेखिएका परिवारका सदस्यहरू पनि खटिइरहेका थिए । संक्रमितहरू काठमाडौं उपत्यकाका ठूला भनिएका निजी र सरकारी अस्पताल चहारेर कतै पनि भर्ना नपाएपछि टेकुमा पुग्छन् ।

स्वास्थ्य मन्त्रालयमा एम्बुलेन्स र बेडका लागि आग्रह गर्दा नजिकको अस्पतालमा जान जवाफ पाउँछन् । ‘टाढै गए पनि बेड पाउन गाह्रो भयो,’ बुहारीलाई सास फेर्न गाह्रो भएपछि काठमाडौं उपत्यकाका ९ वटा अस्पताल चहारेर टेकु अस्पताल बाहिर ह्वीलचियरमा बसेर अक्सिजन लिइरहेका महिलाका आफन्तले भने । यो समाचारकान्तिपुर दैनिकमा छ ।