No 1 News portal From Nepal in Nepali

कोरोना संक्रमणका कारण एमाले नेता र न्यायाधीश श्रेष्ठको निधन

कोरोना भाइरसका कारण नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवानेता लालबहादुर कठायतको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना सङ्क्रमण भई थप उपचारका लागि कैलाली लगिएका नेता कठायतको आज बिहान मृत्यु भएको हो ।

लामो राजनीतिक इतिहास बोकेका कठायत जिल्लामा निडर, साहसी तथा मिलनसार युवानेताका रूपमा चिनिँदै आउनुभएको थियो । उहाँको मृत्युले सि¬ङ्गो नेकपा एमाले डोटीसहित प्रदेश कमिटी स्तब्ध भएको एमालेका जिल्ला अध्यक्ष रामबहादुर ऐरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कठायतजी पार्टीका लागि एक कर्मठ, इमान्दार र त्यागी नेता हुनुहुन्थ्यो, उहाँको निधनले पार्टीलाई अतुलनीय क्षति भएको छ ।” केही दिन पहिले कोरोना परीक्षण गर्दा उहाँको पिसिआर पोजेटिभ देखिएको थियो । उहाँसहित कोरोना भाइरसको सङ्क्रणबाट डोटीमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

यसै क्रममा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर कठायतको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले आज विज्ञप्ति जारी गरी तथा डोटी, शिखर नगरपालिका–३ सालगाउँबासी कठायतप्रति श्रद्धाञ्जलि अर्पण गर्नाका साथै शोकाकूल आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गर्नुभएको छ ।

मन्त्री आलेले कठायतको निधनबाट एमाले डोटीसहित समग्र पार्टीले एक असल र निष्ठावान् नेता तथा डोटेलीले इमान्दार युवा नेता गुमाएको बताउनुभएको छ । उहाँले भद्र, शालीन, मिलनसार छवि बनाउनुभएका कठायतले सुदूरपश्चिमेली जनताप्रति समर्पित युवा नेताको भूमिका निर्वाह गर्नुभएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । कोभिड–१९ को सङ्क्रमणले उहाँको आज निधन भएको थियो ।

न्यायाधीश श्रेष्ठको निधन

कोरोना संक्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उहाँको केही समयदेखि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेकामा आज निधन भएको हो ।

उहाँका अनुसार दुई साताअघि जिल्ला अदालतमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । श्रेष्ठलाई शुरुमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृतक श्रेष्ठको पशुपति आर्र्यघाटमा अन्त्येष्टि गरिनेछ । यसअघि कोरोनाका कारण न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निरालाको पनि निधन भएको थियो ।