No 1 News portal From Nepal in Nepali

अमेरिकी इन्डो–प्यासिफिक कमान्डद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ — अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ती सहायता तथा नेपालको लागि नागरिक सहयोग अन्तर्गत कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

नेपालीस्थित अमेरिकी राजदूतावासका अनुसार उक्त कमान्डले नेपालमा अत्यन्तै जरूरी अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेको छ । नेपाली जनताहरूको लागि अत्यन्तै कठीन यो समयमा अमेरिका तत्काल आवश्यक सामाग्रीहरूको यथाशक्य उपलब्धता गराउन निरन्तर प्रयत्नरत रहेको दुतावासले जनाएको छ ।

२०२० को अप्रिलयता अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ती सहायता तथा नेपालको लागि नागरिक सहयोग अन्तरगत कोभिड–१९ को उपचार तथा व्यवस्थापनको लागि आवश्यक पीपीई, आइसोलेसन सेन्टरका सामाग्री, अक्सिजन समबन्धि विभिन्न उपकरण, टेलिमेडिसिनका सामान, हात धुने केन्द्रहरू तथा अन्य अत्यावश्यक सामान लगायत झन्डै ५८ लाख डलर बराबरको सहयोग उपलब्ध गराइसकेको दूतावासले जनाएको छ ।

योसँगै नेपालमा यूएसएआईडी समेत अमेरिकी सरकारका विभिन्न एजेन्सीहरूले नेपालमा गरेको कोभिड–१९ सम्बन्धी सहयोग झन्डै ५१ मिलियन डलर बराबरको भएको दूतावासले बताएको छ ।