No 1 News portal From Nepal in Nepali

चर्चित गीत ‘तिजको लहर आयो बरिलै’का रचनाकार चेतन कार्कीको निधन

काठमाडौ । चर्चित गीत तिजको लहर आयो बरिलै का रचनाकार चेतन कार्कीको निधन भएको छ । उनी संक्रमित भएर अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको ८३ वर्षको उमेरमा निधन भएको हो । उनी गीतकार तथा चलचित्र निर्देशक पनि थिए ।

संक्रमित भएपछि एक साताअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका उनको आइतवार विहान निधन भएको हो । कार्कीको परिवारसँग सम्पर्कमा रहेका फोटो पत्रकार विकास रौनियारले घटनाको पुष्टि गरेका हुन् ।

‘शनिबार दिउँसोसम्म कार्कीको अवस्था राम्रै रहेको बताइएको थियो। तर बेलुकीदेखि उनको स्वास्थ्यमा समस्या आएको र आइसीयूमा भर्ना गरिएको रौनियारले बताएका छन् । कार्कीको आइतवार विहान साढे १० बजेतिर निधन भएको परिवारले जनाएको छ।

कार्कीको परिवारमा श्रीमती र दुई छोरा छन्। कार्कीको परिवारका अन्य सदस्यहरु आइसोलेसनमा छन्। उनले ‘तिजको लहर आयो बरिलै’ र ‘कलिलो तामालाई सोधे रामालाई’ जस्ता लोकप्रिय गीत रचना गरेका थिए। उनले यीलगायत नेपाली जनजिब्रोमा झुण्डिएका कैयौं गीत रचना गरेका छन् भने चर्चित फिल्महरु निर्देशन गरेका छन्।