No 1 News portal From Nepal in Nepali

जेठ १८ गतेदेखि अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्ने तयारी

काठमाण्डौ – आउँदो जुन १ अर्थात् जेठ १८ गतेदेखि अन्तर्राष्ट्रिय उडानहरू केही सहज बनाउने तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि बन्द भएको अन्तर्राष्ट्रिय उडानहरू स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने गरी निश्चित देशहरूबाट कोटा तोकेर सञ्चालन गर्ने सोच बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्यका मापदण्ड पालना गर्दै जुन १ देखि उडानमा केही सङ्ख्यामा खोल्ने भन्ने मन्त्रालयको सोच छ, तर यो कुरा मन्त्रालयले मात्र निर्णय गरेर हुने चाहिँ होइन ।’नेपालमा नयाँ भेरियन्टसहितको कोराेना सङ्क्रमण फैलिएपछि सरकारले गएको वैशाख २३ गते रातिदेखि अन्तर्राष्ट्रिय उडानमा रोकेको लगाएको हो ।

तर उडान लामो समय रोकिँदा विभिन्न देशमा नेपाली नागरिकहरू अलपत्र परेका छन् । देश अनुसार हप्तामा केही उडान भएमा पनि टिकट काटेर पनि घर फर्कन नपाएका नेपालीहरूलाई सहज हुनेछ । 

यस्तै सरकारले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान चार्टर्ड उडान गर्न अनुमति दिएको छ । तर नेपालमा रोकिएका भारतीय नागरिक लिएर साउदी अरब जाने नेपाली जहाजहरू रित्तै फर्कने भएका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा १० वटा चार्टर्ड उडान गर्ने गरी आवश्यक कार्य गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइसकेको छ । सरकारले नेपालस्थित भारतीय दूतावासबाट सिफारिस भएका भारतीय नागरिकलाई मात्रै साउदी लैजान अनुमति दिएको हो सहसचिव लामिछानेले जानकारी दिनुभयो ।

‘भारतीय दूतावासको अनुरोधमा अनुमति दिइएको हो, अहिलेलाई एकतर्फी भनिएको छ, तर उताबाट फर्कँदा यात्रु ल्याउन पाउने अहिले भनिएको छैन,’ उहाँले भन्नुभयो,‘विदेशबाट आएका नागरिकको व्यवस्थापन र स्वास्थ्यका मापदण्ड लगायतका कुरा स्वास्थ्य मन्त्रालयका साथै अन्य निकायबाट निर्णय नभएसम्म हामीले भन्न सकिने अवस्था छैन ।’

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा पनि एअर बबल सम्झौता अनुसार नेपाल र भारतबीच भने हप्तामा दुई वटा उडान भइरहेको छ ।   

यी उडानमार्फत नेपाल फर्कंनेले १० दिन अनिवार्य सरकारले तोकेको होटेल क्वरेण्टीनमा बस्न पर्छ । तर अब अन्य देशबाट उडानहरू सञ्चालन भएमा मापदण्ड के हुने भन्ने निर्णय भइसकेको छैन । रासस