No 1 News portal From Nepal in Nepali

खुसीको खबर : अब शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण पाइने

काठमाण्डाै – सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ । आउँदाे आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले स्नातक, स्नातकोत्तर वा त्याे भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी बढीमा पाँच प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने जानकारी गराउनुभएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो । 

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।  

यो पनि पढ्नुस : सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि

सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ वृद्धिको घोषणा गर्नुभएको हो ।

हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।

बजेटसम्बन्धी तीन अध्यादेश जारी:- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो । मन्त्रिपरिषद्को आज बसेको बैठकले ती अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आगामी आवको बजेट केही बेरपछि प्रस्तुत गर्ने कार्यक्रम छ । (रासस)