No 1 News portal From Nepal in Nepali

पोस्ट कोभिड निमोनिया भएमा देखिन्छन् यस्ता लक्षण

कोरोना भाइरसको सङ्क्रमणबाट निको भइसकेका बिरामीमा पनि विभिन्न समस्या देखिन थालेको छ ।सङ्क्रमणमुक्त भए पनि धेरैमा खोकी लाग्ने, थकान, शरीर दुख्ने, शरीरमा उर्जाको कमी महसुस हुने, सास फेर्न गाह्रो हुने, निमोनिया हुने तथा मानसिक समस्या देखिन्छ । सङ्क्रमणको दोस्रो लहरमा सङ्क्रमितमा छिट्टै निमोनिया (जसलाई कोभिड निमोनिया पनि भनिन्छ) हुने सम्भावना बढी देखिएको छ ।

साथै, पोस्ट कोभिड भएकामा पनि सास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने, अक्सिजन लिनुपर्ने, श्वासप्रश्वासमा समस्या हुने तथा हिँडडुल गर्न गाह्रो हुने हुनसक्छ । न्यूरो कार्डियो एन्ड मल्टी स्पेसालिटी हस्पिटल, विराटनगरका मेडिकल अफिसर डा. अन्सारीका अनुसार सङ्क्रमणको समयमा मात्र नभई सङ्क्रमण निको भएकामा समेत पोस्ट कोभिड निमोनिया देखिन थालेको छ ।

सङ्क्रमणको समयमा कोभिड निमोनिया भएका बिरामीको फोक्सोमा क्षति भई दीर्घकालीन असर भइसकेको हुन्छ । जसकारण सङ्क्रमणबाट निको भएपछि पनि पोस्ट कोभिड निमोनिया देखिने सम्भावना धेरै हुन्छ । शरीरमा प्रतिरोधी क्षमता घट्दा अन्य ब्याक्टेरियल इन्फेक्सन र निमोनियाजस्ता समस्या देखिने हुन्छ ।

सङ्क्रमणको समयमा प्रयोग गरिएका औषधिका कारण, प्रतिरोधी क्षमता कम भएकामा, पुरानै स्वास्थ्य समस्या भएका तथा दीर्घरोगी मानिसमा पनि पोस्ट कोभिड निमोनियाको जोखिम अझै बढी हुन्छ । एकपटक क्षति भइसकेको फोक्सोका कोषिकाहरू कडा हुने (फाइब्रोसोस) हुने हुँदा निको हुन समय लाग्ने हुन्छ ।

पोस्ट कोभिड निमोनिया हुँदा देखिने लक्षण सामान्य निमोनिया हुँदाका जस्तै हुन्छन् । ज्वरो नआए पनि लगातार खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने वा भारी हुने, छिट्टै थाक्ने तथा सास बढेको जस्तो हुने, अक्सिजनको स्तर घट्ने हुनसक्छ । वा, कोभिड निमोनिया भएर डिस्चार्ज भएका केही व्यक्तिलाई लामो समयसम्म पनि अक्सिजनको आवश्यकता पर्न सक्छ ।

त्यसैले, सङ्क्रमणमुक्त भएपछि कुनै समस्या देखिए वा नदेखिए पनि फलोअपका लागि अस्पताल जान वा डाक्टरसँग परामर्श लिन उचित हुन्छ ।