No 1 News portal From Nepal in Nepali

कोरोनाले शिक्षा क्षेत्रमा पारेको प्रभाव

चीनको बुहान प्रान्तमा पहिलो पटक देखा परेको कोरोना भाइरस कोभिड १९ ले गत वर्षको माघ फागुन देखि नेपाललाई पनि अछुतो राख्न सकेन । वर्षको उत्तरार्धबाट देशभर तहसनहस मच्चाउन थाल्यो । दैनिक रूपमा कोरोनाको प्रभाव बढ्दै गयो फलस्वरुप शिक्षा क्षेत्रमा पनि यसको गहिरो प्रभाव पर्न थाल्यो । हुदा हुदा विद्यालय बन्द हुन थाले र शिक्षा क्षेत्र धरासायी बन्न पुग्यो ।

एक दिनको पनि एक पिरियड घटदा घाटा हुने सिकारुहरूको भविष्य माथि नै प्रश्नवाचक चिह्न खडा भयो । विद्यालय गएर आफ्नो सुन्दर भविष्यको सपना देख्ने लाखौँ सिकारुहरूको सपना माथि ठुलो पहिरो गयो । यसमा सम्बन्धित निकायले चिन्ता र चाँसो राखे पनि उपयुक्त विकल्प ल्याउन सकेनन ।

वैकल्पिक पढाइका विभिन्न अवधारणा ल्याउन खोजे तर त्यसको पनि प्रभावकारी प्रयोग हुन सकेन । वैकल्पिक अवधारण र कार्यान्वयन पनि नभएको भन्न त मिल्दैन तर त्यसको प्रयोग र उपयोग काठमाडौँ सहर जस्ता सुविधा सम्पन्न ठाँउको लागि मात्र प्रयोग व्यवहारमा आए । दूर दराजमा रहेका विद्यालयहरूले न त वैकल्पिक अवधारणको कार्यान्वयन गर्न सके न त सिकारुले वैकल्पिक पढाइको उपयोग गर्न सके ।

देशको दूर दराजमा रहेका विद्यालय र सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले वैकल्पिक पढाइको कुनै पनि परिभाषा बुझ्न सकेनन र त्यसको भेउ पनि पाउन सकेनन । दुर्गम क्षेत्रमा रहेका विद्यालयले पनि घर दैलो कार्यक्रम , टोल शिक्षा कार्यक्रम, हेलो सिकाइ जस्ता अवधारण त ल्याउन खोज्यो तर त्यसको पनि प्रभावकारी प्रयोग हुन सकेन ।

एक गाँउ र अर्को गाँउको दूरी पातलो बस्ती, भगौलिक कठिनाइ, नेटवर्कको समस्या जस्ता कारणले यो कार्य पनि सम्भब भएन । अझै पनि कतिपय ठाँउमा टेलिफोन नेटवर्क छैन । नेटवर्क भए पनि नाम मात्रको नेटवर्क छ चाहेको बेलामा काम नगर्ने त्यसमा पनि सबै विद्यार्थीसँग मुवाइल फोन हुदैन यस्तो अवस्थामा कसरी वैकल्पिक पढाइ उपयुक्त हन सक्छ ।

गरिबी, भगौलिक विकटता, अभिभावहरुको असाबधानी, घरायसीँ काम, कृषि पेशा, लयायतका विविध कारणले गर्दा यी वैकल्पिक उपायहरु गाँउघरको लागि प्रभावकारी हुन पनि सकेनन र कार्यान्वयनमा आउन पनि सकेनन । विद्यालयका कक्षाकोठाहरु खाली हुदा त्यस क्षेत्रसँग सम्बन्धित निकाएले चिन्ता गर्दा गर्दै पनि प्रभावकारी पढाइका कुनै पनि उपाए सुविधा सम्पन्न ठाउँमा भन्दा बाहेक अन्त सम्भव हुन सकेन ।

प्रत्यक्ष पढाइको जस्तो सिकाइ त वैकल्पिक पढाइले हुन सक्दैन तर पनि मामा नहुनु भन्दा कानो मामा जाति भने जस्तै त हुन्थ्यो त्यो पनि सुविधा सम्पन्न र प्रविधिसँग नजिक भएकोलाई मात्र सम्भव भयो दुर्गम अनि पिछडिएको वर्गलाई त्यो सम्भव भएन र यसको प्रत्यक्ष प्रभाव हिमाली र पहाडी भेगका दुर्गम इलाकामा पर्न गयो । शिक्षा क्षेत्रको विभिन्न तहको विश्लेषण गर्दै जादा सबैभन्दा ठुलो घाटा विद्यालय तहको सानो कक्षा अध्ययन गर्ने कलिला बालवालिकाहरुलाई पर्न गयो विद्यालय गएर हात समातेर सिकाउनु पर्ने ती काचो माटोहरूलाई सबै भन्दा ठुलो घाटा भयो ।

नियमित विद्यालय जादा जादै पनि सिक्न मुस्किल पर्ने नानी बाबुहरूलाई यसको प्रभाव सबैभन्दा बढी भयो । मथिल्लो तहमा अध्ययन गर्ने विद्याथीहरूलाई पनि प्रभाव त पर्यो तर उनीहरू साना बालवालिकाहरू भन्दा परिपक्व भैसकेकाले सिक्ने चाहाना हुन्छ र सिक्ने उपायहरु अपनाउन सक्छन । उनीहरुको आधार वा जग पहिले नै तयार भैसको हुन्छ र सिक्नु पर्छ भन्ने मान्यताको विकास पनि भैसकेको हुन्छ ।

खोज अनुसन्धान गर्ने सिपको विकास पनि भैसकेको हुन्छ । सिक्ने उर्जा उत्पन्न हुन्छ सिकाइलाई निरन्तरता दिन सक्छन । प्रत्यक्ष पढाइको जस्तो नभए पनि सामान्य अवधारणको विकास गर्न भने सक्छन । कोरोनाको कारण देशको शैक्षिक स्तर दश वर्ष धकेलिएको अनुमान गर्न सकिन्छ । सहर बजारको बालवालिकाको भन्दा गाँउको दुर्गम भेगका बालवालिकाहरूलाई ठुलो घाटा भएको छ ।

देशको शैक्षिक अवस्थाको विश्लेषण गरी समयमै यसको अध्ययन गरेर भविष्यमा पर्न सक्ने खतरा प्रति अहिले नै सतर्क हुनु आवश्यक देखिन्छ यसमा सम्बन्धित सबैले ध्यान पुर्याउनु जरुरी छ । हाम्रो देशको भगौलिक अवस्थाको अध्ययन गरी सहर र गाँउका विद्यार्थीहरू बिचको विभेद अन्त्य गर्नु पर्छ । सहर बजारमा बसेर कुनै पनि कुराको विकल्प ल्याउनु भन्दा दूर दराजको पनि अति विकट क्षेत्रलाई मध्यनजर राखी शिक्षा क्षेत्रको विषमताको अन्त्य गरिनु पर्छ । महामारीको समयमा पनि आफ्नो पढाइलाई नियमित गराउन सक्ने उपायको अवलम्बन गर्न सक्ने खालको योजनाको विकास गर्नु पर्छ ।

उसै त नेपालको जनशक्ति कमजोर छ भन्ने धारणा छ त्यसमा पनि यस्ता माहामारीका कारणले भविष्यमा पर्न सक्ने समस्यालाई मध्येनजर गरी हरेक परिस्थितिसँग जुध्न सक्ने विकल्प तयार गर्नु पर्छ समावेशी र समन्यायीक अवधारणको विकास गर्नु पर्छ जबकी सहर र गाँउमा अध्ययन गर्ने सिकारूको सिकाइमा विविधता नहोस । एउटै पाठ्यक्रमको अध्ययन गर्ने बालवालिकाहरूले भूगोलकै कारण पछाडी पर्न नपरोस ।कोरोना भाईरसले गर्दा सबै भन्दा ठुलो समस्या शिक्षामा परेको देखिन्छ त्यसैले शिक्षा क्षेत्रको समस्या र महामारीलाई जुध्नसक्ने खालको योजना बनाई अगाडी बढ्नु पर्ने आवश्यक छ । लेखक:- शिक्षक शिवराज जोशी , श्री केदार मा.वि. देउलीकोट, बुंगल-बझांग