No 1 News portal From Nepal in Nepali

जटामसी औषधीय गुणले भरिपुर्ण ! यति धेरै रोग निवारणको लागि रामबाण औषधी

प्राचीनकालदेखि नै निकै महत्वपूर्ण जडिबुटीको रुपमा रहेको जटामसी नेपालबाट निर्यात हुने बहुमूल्य तेलयुक्त सुगन्धित औषधि हो । नेपालको हिमाली भेगमा पाइने लोपोन्मुख जडीबुटीको रुपमा रहेको यसलाई अहिले सरकारले निर्यातको लागि केही सर्त राखेको छ ।

अहिले जटामसी प्रशोधन गरेर तेल निर्यात हुन थालेको छ । जटामसीको वैज्ञानिक नाम ‘नार्डोस्टाकिस जटामन्सी’ रहे पनि वनस्पति नामकरणको हालको अन्तराष्ट्रिय नियमबाट यसको नाम ‘नार्डोस्टाकिस ग्राण्डिफ्लोरा’ निर्धारण भएको छ ।

आयुर्वेदिक प्रणाली अनुसार विभिन्न महत्व रहेको जटामसी औषधीय हिसाबले एकदमै महत्वपूर्ण जडिबुटी हो । शरीरलाई तागत दिने, उत्तेजना, अपस्मार, मृगी, छारे रोग, हृदय रोग, कम्पा, अजीर्ण तथा बाल सम्बन्धी आन्द्राको समस्या, पेट दुखेको उपचार, वायु शमन गर्ने, पिशाब सम्बन्धी समस्या र हैजा तथा रजश्वला सम्बन्धी समस्या समाधानको लागि जटामसी अधिक महत्वपूर्ण जडिबुटी हो ।

यसको प्रकन्दमा मुटु तथा श्वासप्रश्वास प्रणालीलाई उत्तेजित पार्ने, सुक्ष्म जीवाणुनाशक, वायुनाशक र अल्परक्तचापीय औषधीय गुणहरु जटामशीमा पाइन्छ । यसको प्रकन्दबाट प्राप्त हुने सुगन्धित तेल व्यवसायिक स्तरमा श्रृङ्गार प्रशाधन तथा उत्पादन गर्न प्रयोग गर्ने गरिन्छ ।

प्रकन्द तथा यसको सुगन्धित तेललाई कपालमा लगाउने औषधीय तेल उत्पादन गर्न एउटा अति मूल्यवान संघटकको रुपमा लिइन्छ । यसलाई मुटु रोगमा प्रयोग हुने भ्यालेरियनको विकल्पको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । नेपाल सरकारले वन विभागको स्वीकृति लिएर नेपालभित्र प्रशोधन गरी सारतत्व वा तेल निकासी गर्न अनुमती पाएको अवस्थामा बाहेक जटामसीलाई विदेश निकासी गर्न प्रतिबन्ध गरेको छ ।

जटामसीको उपलब्धता: जटामसी मुख्यतया हिमाली भेगमा पाइने जडिबुटी हो । जुन समुद्री सतहदेखि ३,००० देखि ४,५०० मिटरसम्मको उचाईमा पाइने जडिबुटी हो । हिमाली भेगमा चिसो र ओसिलो ठाउँमा यो बिरुवा बाह्रैमास पाइन्छ । यसको जरामा जटा जमेको हुने भएकोले त्यसलाई जटामसी भन्ने गरिन्छ । ती जटामा निकै सुगन्धित तेल जमेर बसेको हुन्छ ।

जटामसीको पहिचान: जमिनभित्र रहने मोटो काण्डलाई राता खैरो झुस, रौं जस्ता जटाहरूले छोपिराखेको हुन्छ । डाँठको लम्बाई ७ से.मी. र चौडाई ३ से.मी.को हुन्छ । यो सुगन्धित खालको हुन्छ । यसको स्वाद तीतो र पिरो हुन्छ । भुईंदेखि नै पलाएर आएको २० से.मी.सम्म लामो र २ से.मी. सम्म चौडा घाँसको जस्तै पात हुने यो जडिबुटी भालाको आकार र रौं नभएको खालको हुन्छ । पातको टुप्पो ढिला हुन्छ । फूलको एउटै झुप्पा हुन्छ । गुलाफी–सेतो रंगको हुन्छ । फूलमा नै भाले तथा पोथी दुबै योनी पाइन्छन् ।

संकलन गर्ने समय: हिमाली भेगमा हिउँ हटेपछि साउन महिनादेखि कार्तिक महिनासम्म जमिन बिस्तारै खनेर बिरुवा पलाउने केही भाग त्यही छोडी त्यसको डाँठ मात्रै टिप्ने गरिन्छ । त्यसपछि सो जरा र डाँठबाट राम्ररी माटो राम्ररी झारेर यसलाई हावामा राम्ररी सुकाउनु पर्छ । जसले यसमा रहेको गुण र औषधीय तत्व संरक्षण गर्छ ।