No 1 News portal From Nepal in Nepali

कानेगुजीको फाइदा-बेफाइदा दुवै, सफा गर्ने कुन विधि सबैभन्दा उपयुक्त ?

कानको मैल अर्थात कानेगुजी सुन्ने र देख्नेवित्तिकै धेरैलाई घिन लाग्छ। तर, तपाईलाई यो थाहा नहुन सक्छ कि, कानका लागि यो कति महत्वपूर्ण छ भन्ने। कानेगुजी कानका लागि राम्रो भएपनि कहिलेकाँही भने यसले समस्या पैदा गर्न सक्छ। बेलायतकी इएनटी सर्जन ग्याब्रियल वेस्टनले कानेगुजी कानको भित्र रहेका ग्रन्थीबाट पैदा हुने बताइन्। उनले यसका थुप्रै काम हुने जानकारी दिइन्।

कानेगुजीका काम: यसले हाम्रो कानलाई सफा र सुरक्षित राख्छ,यसले कानको नलीमाथिको भागलाई सुख्खा हुनबाट जोगाउनुका साथै त्यस क्षेत्रमा पर्नसक्ने चिराबाट जोगाउँछ। यसले कानमा धुलोका कण तथा पानी छिर्नबाट रोक्छ। जसले संक्रमण हुनबाट हाम्रो कानलाई बचाउँछ। सफा गर्नु नै पर्ने भए कर्ण नलिकाले यसलाई आफै हटाउँछ वा बाहिर निकाल्छ। कानेगुजी स्वास्थ्यका लागि हानीकारक त छैन तर, यसको मात्रा कानमा बढी हुनथाल्यो भने यसले केही समस्या ल्याउन सक्छ। जस्तो कि, कानमा दुखाइ महसुस हुनसक्छ, सुन्ने क्षमतामा कमी आउनसक्छ। बजारमा कान सफा गर्ने थुप्रै स्वास्थ्य सामग्री उपलब्ध छन् तर तिनको प्रयोग के साँच्चै उपयुक्त छ त?

कटन बड्स: अधिकांश मानिसले कान सफा गर्न अपनाउने सामाग्री भनेको कटन बड्स हो। तर, के तपाईलाई थाहा छ कि यसको प्रयोग कानका लागि घातक पनि हुनसक्छ भन्ने? कुनैकुनै कम्पनीले त प्याकेटमा लेखेका पनि हुन्छन्, यसको प्रयोग कानको नली सफा गर्न प्रयोग नगरौं भनेर। जब हामी बड्सको प्रयोग गर्छौं तब यसलाई भित्रैसम्म धकेल्छौं। यसो गर्दा रुईका टुक्राहरु कानको त्यस्तो क्षेत्रमा टासिन पुग्छन् जुन अंग आफ्नो सफाइ गर्न सक्षम हुँदैन। जो कानमा हुने संक्रमणको एक कारण बन्न सक्छ। बड्सले कहिलेकाँही कानको जलनलाई पनि निम्ता दिन्छ। यसो हुँदा हामीलाई बारम्बार कानमा केही हालिरहन मन लाग्छ। यसले इन्फेक्सन गराउन सक्छ। यतिमात्र होइन कहिलाकाँही बड्स धेरै भित्रसम्म जाँदा यसले कानको पर्दासमेत फाट्न सक्छ। एक्कासी दुखाइ बढ्नसक्छ, रगत आउनसक्छ तथा सुन्ने क्षमतामा ह्रास आउनसक्छ।

इयर क्यान्डल: कानेगुजी निकाल्नका लागि बजारमा इयर क्यान्डल पनि उपलब्ध छ। यस विधिमा जलिरहेको मैनवत्तीलाई एक लामो पातलो वस्तुमा राखिन्छ। जसको एकतर्फ दुलो हुन्छ र यसलाई कानतर्फ फर्काइएको हुन्छ। यसको प्रयोगले कानेगुजी तथा अन्य असुद्ध कुराहरु पनि सफा हुने दाबी गरिएको छ। तर, यसको प्रयोग खतरनाक हुनसक्छ र अध्ययनले पनि यसको प्रयोग खासै प्रभावकारी नरहेको देखाइसकेको छ। कहिलेकाँही मैनबत्तीको वाक्स कर्ण नलीसम्म पुग्ने खतरा रहन्छ जसले हाम्रो श्रवणशक्ति गुम्न सक्छ।

इयर ड्रप्स: कानेगुजी सफा गर्न प्रयोग गरिने अर्को उपाय भनेको इयर ड्रप्सको प्रयोग पनि हो। यसले कानमा भएको मैललाई नरम बनाउँछ जसले गर्दा आफै बाहिर आउन थाल्छ। बजारमा थुप्रै कम्पनीका इयर ड्रप्स पाइन्छ। जसमा हाइड्रोजन पेरोक्साइड, सोडियम बाइकार्बोनेट या सोडियम क्लोराइड हुन्छ। इयर ड्रप्स कानको सफाइका लागि प्रभावकारी हुनसक्छ तर, कहिलेकाँही यसको प्रयोगले कानको संवेदनशील छालामा जलनको समस्या ल्याउन सक्छ। यसको विकल्पमा जैतुन र बदामको तेल पनि प्रभावकारी मानिन्छ।

पानीको प्रयोग: यदी कानेगुजीले तपाईलाई समस्या दिइरहेको छ भने पानीको प्रयोग पनि गर्न सक्नुहुन्छ। मेडिकल साइन्समा यस्तो प्रयोगलाई सिरिन्जिङ पनि भनिन्छ। जसमा सुइको माध्यमद्वारा कानमा पानी हालिन्छ। यस विधिले कान त सफा हुन्छ तर कहिलेकाँही यसले समस्या पनि ल्याइदिनसक्छ। यसले कानको पर्दामा असर पुर्याइदिन पनि सक्छ।

माइक्रोसक्सन: कानेगुजीबाट पीडितहरुका लागि केही मेडिकल क्लिनिकले माइक्रोसक्सन विधि अपनाउने गर्छन। यस प्रक्रियाम चिकित्सकले कानको भित्र हेर्न माइक्रोस्कोपको प्रयोग गर्छन्। र एक औजारको सहायताले कानेगुजी निकाल्छन्। कान सफा गर्ने यो विधि अरुभन्दा निकै सुरक्षित मानिन्छ।