यतीबेला गाउँ, सहरमा जतात्यतै लिची पारेर रात्तै भएको देखिन्छ । लिची देख्ने वित्तिकी मुख रसाउने र खाई हालौं जस्तो धेरैलाई लाग्ने गर्छ । धेरैलाई मनपर्ने मौसमी फलफूल मध्ये लिची पनि एक हो । लिची भिटामिन सी तथा पोटाशियमको महत्वपूर्ण स्रोत हो । लिची स्वादिष्टका साथै स्वस्थ्यबर्धक पनि हो । लिची खानाले गर्मी मौसममा शरीरलाई पानीको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ । लिचीमा ६५ प्रतिशत क्यालोरी हुन्छ जुन शरीरका लागि लाभदायी हुन्छ ।
लिचीका फाइदाहरु यसप्रकार छन्: लिचीमा प्रशस्त मात्रामा मिनरल्स, क्याल्शियम, फस्फोरस, म्याग्नेशियम हुन्छ जुन शरीरको बिकासका लागि फाइदाजनक हुन्छ । लिचीमा भिटामिन सी तत्व हुन्छ जसले त्वचामा चमक ल्याउनुका साथै शरीरमा रोगप्रतिरोधात्क क्षमता बढाउछ र पाचन शक्तिलाई मजबुत बनाउन मद्दत गर्छ । लिचीको सेवनले शरीरमा रगतलाई सफा र स्वस्थ राख्नमा मद्दत गर्छ । लिचीको सेवनले महिलाहरुमा हुने स्तन क्यान्सर रोग लाग्नबाट जोगाउँछ । लिचीको सेवन गर्नाले ब्लडप्रेशर कन्ट्रोल गर्न मद्दत गर्छ ।
यति गुणी फल भए पनि यसलाई खाली पेटमा खानु हानिकारक हुन्छ । खाली पेटमा यसको सेवन गरेकै कारण बालबालिकाको मृत्यु भएको खबर पनि वर्षेनी आउने गर्छ। लिची मानव स्वाथ्यको लागि खतरा पनि हो । ‘द ल्यान्सेट ग्लोबल हेल्थ’ जर्नलमा प्रकाशित एक लेखको नतिजाले ‘लिची र बालबालिकाको मृत्युको सम्बन्ध’ देखाएको थियो।
अमेरिकी र भारतीयहरु गरी ५१ जना अनुसन्धानकर्ताहरु यो प्रोजेक्टमा सम्मिलित भई अनुसन्धान गरेका थिए। सन् २०१४ मा गरिएको अनुसन्धान सन् २०१७ को अप्रिल महिनाको अंकमा प्रकाशित भएको थियो। सन् २०१९ मा आएर यसको नतिजाले विशेष चासो लिएको छ। भारतको मुजप्फरपुर लिची खेतीको लागि प्रख्यात मानिन्छ। त्यहाँका बालबालिकामा ज्वरो आउने, रगतमा ग्लुकोजको मात्र कम हुने, र इन्सेफलोप्याथी भई मृत्यु हुने गरेकोले त्यसको कारण पत्ता लगाउन वैज्ञानिकले अनुसन्धान गरेका थिए।
लिचीमा ‘हाइपोगलाइसिन ए’ र ‘एमसिपिजी’ नामक रसायन पाइन्छ। यसले रगतमा चिनीको मात्र घटाउने काम गर्छ। लिचीको अत्यधिक उपभोग गर्ने र रातिको खाना नखाई सुत्दा रगतमा चिनीको मात्रा अत्यधिक कम भई इन्सेफलोप्याथीको लक्षण देखापरेको थियो। बिहानको ३ बजेदेखि बिहानको ८ बजे बीचमा यस्तो अवस्था बढी मात्रामा हुने गरेको देखिएको थियो।