No 1 News portal From Nepal in Nepali

तरकारीको पोषकतत्त्व कसरी बचाउने ? खाना पकाउँदा यी ५ कुरामा ध्यान दिनुहोस्

खाना बनाउनेवेला गरिने स–साना गल्तीले खानामा विद्यमान पोषकतत्त्व नष्ट हुन्छन् । पोषकतत्त्व नष्ट भएका खानाले तपाईंको पेट त भरिन्छ, तर स्वास्थ्य भने तन्दुरुस्त रहँदैन । यदि तपाईं तरकारीमा भएको पोषकतत्त्व खानेवेलासम्म कायम राख्न चाहनुहुन्छ भने जान्नुहोस्, यी ५ भान्साका टिप्स । तरकारीमा कैयौँ पोषकतत्त्व हुन्छन्, जुन हामी धेरैलाई थाहा छ ।

यी पोषकतत्त्वले शरीरको विकास हुनुका साथै शरीरलाई आवश्यक ऊर्जा मिल्दछ । तर, के पकाएपश्चात् पनि तरकारीमा भएका पोषकतत्त्व कायम रहन्छन् त ? वास्तवमा यो तपाईंको खाना पकाउने तरिकामा निर्भर हुन्छ । तपाईंको पकाउने तरिकाले नै तरकारीमा भएको पोषकतत्त्व कायम रहने वा नष्ट हुने कुराको निर्धारण गर्छ, अर्थात् सही तरिकाले पकाएको खण्डमा तपाईं तरकारीमा भएको पोषकतत्त्व खानेवेलामा प्राप्त गर्न सक्नुहुन्छ । मुख्य रूपमा खाना पकाउनका लागि दुई चिजको प्रयोग गरिन्छ, आगो र पानी ।

कैयौँ भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट यस्ता छन्, जो आगो र पानीको गलत प्रयोगले नष्ट भएर जान्छन् । यसका अलावा कतिपय अवस्थामा खाना बनाइसकेपछि हामी यसलाई फ्रिजमा राखिदिन्छौँ, जसका कारण केही घण्टापछि यसको पोषकतत्त्व नष्ट हुन थाल्दछ । यदि तपाईं वास्तवमै तरकारीमा भएको पोषकतत्त्व बचाइराख्न चाहनुहुन्छ भने तपाईंले खाना बनाउनेक्रममा यी कुरालाई ध्यानमा राख्नु अत्यन्त जरुरी छ:-

१. तरकारीलाई धेरै मसिनो बनाएर नकाट्नुहोस्: काट्नाले पनि तरकारीको पोषकतत्त्व नष्ट भएर जान्छ । वास्तवमा प्रकृतिले तरकारीमा भएको पोषकतत्त्व बचाइराख्न नै यसलाई बोक्राले ढाकेर राखेको हुन्छ । जब तपाईं तरकारीलाई काट्नुहुन्छ, केही पोषकतत्त्व हावाको सम्पर्कमा आउनाले नष्ट हुन्छन् । त्यसैले पोषणविद्हरू मान्छन् कि, तरकारीलाई धेरै साना टुक्रामा काट्नुहुँदैन । यदि खानाबाट ज्यादाभन्दा ज्यादा पोषकतत्त्व प्राप्त गर्नु छ भने तरकारीलाई धेरै साना टुक्रामा नकाट्नुहोस् ।

२. आवश्यकभन्दा धेरैबेर नपकाउनुहोस्: सामान्यतया मानिसको सोचाइ हुन्छ कि, धेरै समयसम्म पकायो भने खाना स्वादिलो बन्दछ । तर, धेरैलाई थाहा नहुन सक्छ, ज्यादै तातोमा पकाउँदा र ढिलासम्म पकाउँदा पनि खानाको पोषकतत्त्व नष्ट हुन्छ । त्यसैले खानालाई जहिले पनि मन्द तातोमा पकाउनुहोस् र कम समयमै तयार गर्ने कोसिस गर्नुहोस् । धेरैबेर भुट्ने वा रोस्ट बनाउने गर्नाले तथा तेलमा फ्राई गर्नाले खानाको पोषकतत्त्व नष्ट हुन्छ ।

३. तरकारी पकाउँदा पानीको साटो बाफको सहयोग लिनुहोस्: धेरैजसो ताजा तरकारी प्राकृतिक रूपले नै पानीयुक्त हुन्छन् । केही मानिस तरकारी पकाउँदा अत्यधिक तेलको प्रयोग गर्छन् त केहीले पानीमा पकाउने गर्छन् । तर, यस्तो गर्नुहुँदैन । तरकारीमा हुने पोषकतत्त्वलाई बचाउने सबैभन्दा राम्रो र सहज तरिका भनेकै कमसे कम पानीमा बाफ निकालेर पकाउनु हो । यस्ता कैयौँ पोषकतत्त्व हुन्छन्, जो पानीमा घुलेर नष्ट हुन्छन् । त्यसैले तरकारी पकाउँदा धेरै पानी वा तेलको प्रयोग गर्नु गलत हो ।

४. खानालाई चिसो भएपछि तताएर नखानुहोस्: सम्भव भएसम्म सधैँ बन्दाबन्दैको ताजा खाना खानुपर्छ । यदि तपाईं खाएर बचेको खाना फ्रिजमा राख्नुहुन्छ र ६–७ घण्टापछि फेरि तताएर खानुहुन्छ भने यसको पोषकतत्त्व नष्ट हुन्छ । यस्तो खानाले तपाईंको पेट त भरिन्छ, तर तपाईंलाई आवश्यक पोषकतत्त्व प्राप्त हुँदैन । खानालाई पटक–पटक तताएर खानाले सबैभन्दा बढी भिटामिन सी नष्ट हुन्छ ।

५. खानामा बेकिङ सोडाको प्रयोग नगर्नुहोस्: केही मानिस खाना पकाउँदा बेकिङ सोडाको प्रयोग गर्छन् । सामान्यतया खाना पाक्नका लागि आवश्यक फर्मेन्टेसनलाई छिटो बनाउनका लागि बेकिङ सोडाको प्रयोग गर्ने गरेको पाइन्छ । तर, यस्तो काम कहिल्यै नगर्नुहोस् । बेकिङ सोडाको प्रयोगले खानामा रहेको भिटामिन सी सम्पूर्ण रूपमा नष्ट हुन्छ ।