उच्च रक्तचाप मुटुसँग सम्बन्धित मृत्युको सबैभन्दा महत्त्वपूर्ण कारण हो। अमेरिकी मेडिकल एसोसिएसनका अनुसार, सामान्य व्यक्तिको रक्तचाप १२०/८० भन्दा कम हुनुपर्छ भने १३०/८० वा सो भन्दा बढी रक्तचापलाई उच्च रक्तचापको रुपमा परिभाषित गरिएको छ। विश्वव्यापीरूपमा यसले प्रत्येक ८ वयस्क जनसंख्यामा १ जनालाई असर गर्छ। सामान्यतया बढ्दो उमेरसँग सम्बन्धित उच्च रक्तचाप अहिले युवाहरूमा धेरै बढेको छ। २०१८ मा अमेरिकन मेडिकल एसोसिएशनको जर्नलमा प्रकाशित एक अनुसन्धान लेखले १८ वर्षभन्दा माथिका नेपाली जनसंख्याको ४४ प्रतिशतमा उच्च रक्तचापको समस्या भएको देखाएको छ।
उच्च रक्तचापले के असर गर्छ? उच्च रक्तचापले मुख्यत : मुटु र धमनीहरूलाई क्षति पुर्याउँछ । मुटुलाई कडा रुपले पम्प गर्न बाध्य पार्दै जान्छ र समय बित्दै जाँदा यसले मुटुको मांसपेशीलाई बाक्लो बनाइदिन्छ, जसले मुटुलाई रगत भर्न र पम्प गर्न गाह्रो बनाउँछ। धमनीहरू साँघुरो र कडा बनाउँदै यसले रगतको सामान्य प्रवाहलाई सीमित गर्न सक्छ।
उच्च रक्तचापले स्वास्थ्यलाई कसरी असर गर्छ? यदि तपाइँको उमेर २० देखि ४० वर्षभित्रमा छ भने, उच्च रक्तचापले तपाइँको जीवनमा पछि गम्भीर स्वास्थ्य जटिलताहरू विकास गर्ने जोखिम बढाउँछ। अनियन्त्रित उच्च रक्तचाप मध्य-उमेरमा हृदय रोगको लागि एक प्रमुख जोखिम कारक हो, जुन मृत्युको प्रमुख कारण पनि हो। यो स्ट्रोक, पक्षाघात, मिर्गौला रोग र आँखाका धेरै गम्भीर रोगहरूको लागिएक प्रमुख जोखिम कारक हो।
उच्च रक्तचापका लक्षणहरु: दुर्भाग्यवश, लक्षणहरू सधैं स्पष्ट रूपमा देखिँदैनन् र रोगी कुनै पनि स्पष्ट संकेत वा लक्षणहरू याद नगरी वर्षौंसम्म रहन सक्छ। महत्त्वपूर्ण कुरा यो हो कि लक्षणहरूको अनुपस्थितिको मतलब कुनै गम्भीर स्वास्थ्य जोखिम छैन भन्ने हैन। नियमित रक्तचाप नाप्नु तपाईलाई उच्च रक्तचाप छ कि छैन भनेर थाहा पाउने एक मात्र तरिका हो।
उच्च रक्तचापका लक्षणहरू: टाउको दुखाई,धमिलो दृष्टि,चक्कर/ रिंगटा लाग्नु,घाँटी वा टाउकोमा धड्कन महसुस हुनु, सास फेर्न गाह्रो हुनु,वाकवाकी । उच्च रक्तचाप कसरी रोक्ने? उच्च रक्तचाप औषधि र जीवनशैली परिवर्तनको संयोजन मार्फत उपचार गर्न सकिन्छ। आहार परिवर्तन र जीवनशैली परिमार्जन रक्तचाप कम गर्ने दुई सबैभन्दा प्रभावकारी तरिकाहरू हुन्।
खाने बानी: पौष्टिक, कम क्यालोरी भएका खानेकुराहरू जस्तै फलफूल र तरकारीहरू खानामा बढाउने। खानामा नूनको मात्रा कम राख्ने। खानामा नुनको अत्याधिक सेवनले उच्च रक्तचापको जोखिम बढाउँछ। समान्यत: खानाको एक भागमा फलफुलको सेवनले प्रेशर, कॉलेस्टरोल तथा भविष्यमा हुन सक्ने हार्ट अटेकको जोखिम धेरै हदसम्म कम गर्ने देखाएको छ। त्यसैगरी माछामासु खानेहरुले अत्याधिक रातोमासु (मटन, बफ, पोर्क) को सेवन पनि कम गर्नु पर्ने देखिन्छ। रातोमासुले दीर्घकालिन रूपमा उच्च रक्तचाप, कोलेस्ट्रॉलको समस्या बढाउने गर्दछ।
स्वस्थ तौल: मोटोपना उच्च रक्तचापको लागि सबैभन्दा महत्त्वपूर्ण जोखिम कारक हो र तौल कम गर्नाले उच्च रक्तचाप सम्बन्धी हृदयघात जोखिमलाई झन् कम गर्छ। नियमित व्यायाम: हप्तामा कम्तिमा १५० मिनेटको व्यायामले रक्तचाप कम गर्छ। हप्ताको ५ दिन दैनिक ३० मिनेट व्यायाम गर्नु पर्याप्त मानिन्छ। रक्सी र धुम्रपानबाट टाढा रहनुहोस्।यसले रक्तचाप कम गर्न मात्र नभई विभिन्न हृदयरोगको जोखिम कम गर्न मद्दत गर्दछ। उच्च रक्तचापको एक प्रमुख कारण मानसिक तनाव हो।
व्यस्त जीवनशैली र काम तथा व्यक्तिगत जीवनसँग सम्बन्धित तनाव बढेको वर्तमान युवा पुस्तामा यसतर्फ बढी ध्यान दिन आवश्यक छ। सहरी व्यस्त जीवनशैली, अत्याधिक मानसिक तनाव, अस्वस्थ खानपिन र शरीरिकरूपमा व्यायामको कमी सहरी युवाहरुमा कम उमेरमानै उच्च रक्तचाप तथा मुटुरोगका प्रमुख कारण देखिएका छन्। त्यसैले स्वस्थ जीवनशैली कायम राख्ने, स्वस्थ खाना खाने, धूम्रपान र मदिरा सेवन नगर्ने र नियमित स्वास्थ्य परीक्षण नै उच्च रक्तचापको एक मात्र रोकथाम उपाय हो। डा. अभिषेक ठाकुर मुटुराेग विशेषज्ञ